काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मन्त्रालय र मातहतका निकायलाई निर्धारित जिम्मेवारी तथा कार्यक्रम समयमै सम्पन्न गर्न र नागरिकले अनुभूत गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिएका छन् ।
मन्त्री यादवको अध्यक्षतामा मन्त्रालयमा सम्पन्न मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक तथा आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा मन्त्रालय तथा मातहतका निकायको पहिलो त्रैमासिक कार्यसम्पादनको समीक्षा गर्दै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र तिनको समाधानका उपायबारे छलफल गरिएको थियो । कार्यसम्पादन सुधारका लागि निकायगत सुझावसमेत प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले विद्यमान समस्या समाधान र कार्यसम्पादन सुधारका लागि नयाँ सोच तथा कार्यशैली अपनाउन सुझाव दिएका थिए । उनले नीतिगत समस्या समाधानका लागि आयोगबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पहिलो त्रैमासिकमा देखिएका कमजोरी सुधार्दै वार्षिक लक्ष्य हासिल हुने गरी कार्यसम्पादन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सचिव काफ्लेले नागरिकका गुनासो सम्बोधन गर्न तथा प्रचलित नियमअनुसार बेरुजु फर्छ्योट गर्नसमेत सबै निकायलाई आग्रह गरेका छन् ।






