कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यससँगै महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।
सुदूरपश्चिम, गण्डकी, मधेस र कोशी प्रदेशले समान २–२ अङ्क प्राप्त गरे पनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो । यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११७ रन बनायो । गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रन बनाइन् । ३४ बल खेल्दै उनले ३ चौका प्रहार गरिन् । सम्झना पौडेलले अविजित ३८ रन बनाइन् ।
ओपनर दीपिका सापकोटा शून्य रनमै आउट भइन् भने श्रेया शाहले १५ र रेखा तामाङले चार रन बनाइन् । चन्द्रमाया बराल र कुसुम गोदारले १–१ रन जोडिन् ।
सुदूरपश्चिमका लागि स्नेहा महराले २ विकेट लिइन् भने अनु कडायत, करिश्मा थापा र यशु पाण्डेलले १–१ विकेट लिइन् ।
जवाफमा सुदूरपश्चिमका लागि अनु कडायतले महत्त्वपूर्ण ब्याटिङ गरिन् । ३३ बलको सामना गरेकी उनले २ छक्का र ७ चौका प्रहार गरिन् । मनीषा बोहराले २५, यशु पाण्डेले ११, ऋतु कनौजियाले आठ, स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाइन् ।
गण्डकीका लागि दीपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले १ विकेट लिइन् ।







