काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गरेका छन् । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाए ।
सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलपूmल तथा तरकारी आयात रोक्न आग्रह गरे । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलपूmल तथा तरकारीको विषादी परीक्षण गर्न माग गरे ।
सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाँउपालिकामा पहिराबाट जनधनको क्षति भएको बताउँदै घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरे । उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गरे।
सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुने गरी बाटोघाटो निर्माण रोक्नुपर्ने सुझाव दिए भने कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको तर्क दिए ।
सांसद कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमीकरण बन्दै गएकामा चिन्ता व्यक्त गरे । सांसद उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको आरोप लगाए । सांसद खेमप्रसाद लोहनीले सीतापाइला –धार्के सडक तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।







