काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेबिसंघका पूर्वअध्यक्ष नैनसिंह महरले वर्तमान सरकार आम जनताभन्दा पनि कम्युनिष्ट पार्टीका सांगठित सदस्यप्रति वफादार रहेको आरोप लगाएका छन् ।
कांग्रेस भक्तपुरले नगरकोटको तेल्कोटमा बिहीबार आयोजना चुनावी सभालाई सम्बोधन गर्दै महरले सरकार आमनागरिकका भन्दा पनि कम्युनिष्ट पार्टीका संगठित सदस्यप्रति वफादार रहेको टिप्पणी गरेका हुन् ।
‘जनताका दैनिक उपभोग्य सामग्रीमा तीन सय प्रतिशत बढी मूल्य वृद्धि भएर जनता आजित भएका छन् । सुन काण्ड, निर्मला काण्ड, सिण्डिकेट काण्ड, वाईडवडी काण्ड, बालुवाटार काण्ड हुँदै सभामुख काण्डसम्ममा नेकपा पार्टी र ओली नेतृत्वको सरकार निर्लज्ज तरिकाले संलग्न छ,’ उनले आरोप लगाउँदै भने ।
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत थुप्रै स्थानमा दुवै छिमेकी मुलुकले नेपाली भूमि मिच्दा पनि ठोस कदम नचालेर मुकदर्शक देखिएको भन्दै महरले सरकारको आलोचना गरे । राष्ट्रिय अस्मितामाथि खेलवाड भइरहेको भन्दै उनले नेपाली जनता आन्दोलित हुनुपर्ने वेला आएको जिकिर गरे ।
चौतर्फी असफल र अधिनायकवादको आकाँक्षा बोकेको सरकारलाई जनताको लोकतान्त्रिक सिकञ्जा लगाउन आगामी उपनिर्वाच्नमा काग्रेसलाई विजय गराउन उनले मतदातालाई आग्रह गरे ।







