काठमाडौँ। नेपाल टेलिकमले मासिक ४ हजार ९९९ रुपैयाँ बराबरको ३० एमबीपीएस इन्टरनेट प्याकेजका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले उक्त प्याकेजका सम्बन्धमा तथ्यभन्दा फरक ढंगले समाचार प्रकाशन तथा प्रसारण भएको भन्दै आपत्ति जनाएको हो।
टेलिकमले विगतदेखि नै निरन्तर रूपमा सञ्चालन गर्दै आएका इन्टरनेट प्याकेजहरूको स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग पत्राचार गर्दै आएको स्पष्ट पार्दै भनेको छ, ‘नेपाल टेलिकमले विगत देखि निरन्तर रुपमा सञ्चालन गर्ने प्याकेजहरु स्वीकृतिको लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको छ । कम्पनीले मिति २०८३।०६।३० मा अफरको रुपमा सञ्चालनमा ल्याएको प्याकेजको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराई सकिएको र उक्त प्याकेज कम्पनीले विद्यार्थी अफरको रुपमा यसअघि प्राधिकरणलाई जानकारी गराई सञ्चालनमा ल्याएको अफर समेत हो ।’
विभिन्न सञ्चारमाध्यममा ३० एमबीपीएसको एफटीटीएच इन्टरनेट प्याकेजबारे प्रकाशित समाचारले सेवाग्राहीमा भ्रम सिर्जना हुन सक्ने भन्दै टेलिकमले त्यसप्रति सचेत रहन समेत आग्रह गरेको छ।




