काठमाडौं । सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडक खण्डको ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
दोलखा कालिन्चोकबाट फर्किँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको र १८ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।
भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। दुर्घटनाका घाइतेमध्ये १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौर र गम्भीर घाइते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौंमा रिफर गरिएको डीएसपी काफ्लेले बताए । मृतकमध्ये भीमेश्वर नगरपालिकाकी जुनु तामाङको पहिचान भएको प्रहरीले जनाएको छ ।
घाइते २० जनामध्ये २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ जना पुरुष, २ बालिका र १ बालक रहेका छन् । घुम्तिमा दुर्घटना भएको बस माथिल्लो सडकबाट खसेर तल्लो सडकमा पुगेको थियो।







