बुटवल । रुपन्देहीको एक बोर्डिङ स्कुलका कक्षा ५ मा अध्ययनरत बालक शिक्षकबाट निर्घात कुटिएका छन् । सम्मरीमाई गाउँपालिका–६ को ज्ञानदीप बोर्डिङ स्कुलमा अध्ययनरत बालक तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट कुटिएका हुन् ।
कुटाइबाट १० वर्षिय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ ।
धुनियाका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा लागेको बताएका छन् ।
स्कुलका प्रिन्सिपल सुरेन्द्र बरईले भने बालकमाथि शिक्षकले कुटपिट नगरेको बताएका छन् । प्रधानाध्यापक बरईले बालक अटेरी भएको र गृहकार्य नगरेको कारण उनलाई सामान्य तर्साउने काम शिक्षक शैलेन्दै बरईले गरेको बताएका छन् । शिक्षक शैलेन्द्रले बालकलाई नकुटेको प्रधानाध्यापक बरईको जिकिर रहेको बताईएको छ ।
आँखामा लागेको चोट हेर्दा बालकलाई निर्घात कुटिएको जस्तो देखिन्छ । तर बालकले भनेको नमानी अटेरी गरेको भन्दैमा शिक्षकले त्यसरी निर्घात कुट्नु पर्ने अवस्था आउनु सामान्य कुरो होइन ।
तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको गुनासो छ ।
तर, प्रहरीले प्रक्रिया नपुर्याइ उजुरी गर्न आएकाले दर्ता नगरिएको प्रहरी श्रोतको भनाइ छ ।







