एजेन्सी । अफिसको क्यान्टिनबाट खाना चोरेको आरोपमा लन्डनको एक बैंकका कर्मचारी जागिरबाट निकालिएका छन् । वार्षिक १० लाख पाउन्ड सम्म कमाइ गर्ने एक हाइप्रोफाइल बैंकका कर्मचारी अफिसको क्यान्टिनबाट खानेकुरा चोरेको आरोपमा जागिरबाट निकालिएका हुन् ।
इन्भेस्टमेन्ट बैंक सिटीग्रुपको लन्डनस्थित हेडक्वाटरको क्यान्टिनबाट ३१ वर्षीय पारस साहले स्यान्डविच चोरेको बताइएको छ ।
संचार एजेन्सी रोयटर्सका अनुसार उनलाई केही समय अगाडि मात्र सिटीग्रुपमा युरोप, अफ्रिका र मध्य पूर्वका वरिष्ठ बन्ड ट्रेडरका रुपमा बढुवा गरिएको थियो । तर नयाँ पदको बोनस पाउनु अगावै उनले यस महिनादेखि काममा आउन बन्द गरिसकेको जनाएको छ ।
यस विषयमा पीए न्युज एजेन्सी उनीसँग सम्पर्कमा आउन नसकेको र सिटीग्रुपले पनि कुनै प्रतिक्रिया नदिने बताएको हो ।
युनिभर्सिटी अफ बाथमा अर्थशास्त्र मेजर विषयको पढाइ सिध्याएका उनको पारिश्रमिक वार्षिक १० लाख पाउन्ड भन्दा बढी हुने गरेको बताइएको छ ।
व्यक्तिगत गल्तीका कारण कामबाट निकालिने उनी पहिलो ब्याङ्कर भएको पनि बताइएको छ ।
यसअघि पनि जापानको मिजुहो बैंकमा एक लन्डन ब्याङ्करलाई सहकर्मीको साइकलको ५ पाउन्ड पर्ने पूर्जा चोरी गर्दैगर्दा पक्राउ परेपछि निलम्बित गरिएको थियो ।
त्यसैगरी विश्वको सबैभन्दा ठूलो सम्पति व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक एसेट’ का व्यवस्थापन निर्देषक जोनथन बरोजलाई ट्रेन यात्राका क्रममा कहिल्यै भाँडा नतिर्ने गरेको पाइएपछि २०१४ मा उच्च पदमा नियुक्त गर्नबाट निषेध गरिएको थियो र अनुसन्धानपछि जरिवाना तिर्न भनिएको हो ।







