काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट परेपछि सर्वोच्चले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । आज प्रचण्ड आफै सर्वोच्च पुगेर जवाफ पेश गरेका हुन् ।
उनले लिखित जवाफ पेश गर्दै आफ्नो अभिव्यक्तिले अदालतको अवहेलना नहुने बताएका छन् । आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन नसक्ने प्रचण्डले जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’