काठमाडौँ । कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोक्ता ठगी गर्ने बालाजुमा रहेको राजेश हार्डवेयरको सटर सिलबन्दी गरिएको छ । सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेखित परिमाणभन्दा कम डन्डी लगायतका फलाम जन्य सामग्री बिक्री गरेको पाइएको हो ।
शुक्रवार उपभोक्ताले खरिद गर्ने क्रममा शङ्का लागेपछि प्रहरीकोमा पुर्याएकोमा ठगी गरिरहेको पुष्टि भएको हो । बिलमा एक सय किलो उल्लेख गरेर ९० किलोसम्म मात्रै दिने गरेको भेटिएको हो । उपभोक्ताले प्रहरी चौकीमा पुर्याएपछि शुक्रवार सामान्य मुचुल्का बनाएर राखिएकोमा शनिवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौलको टोलीसमेत पुगेपछि डन्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । वाणिज्य विभागका प्रवक्ता शिवराज सेडाईंका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको छ ।
राजेश हार्डवेयरले विभिन्न कम्पनीको रड, स्टिल लगायतका सामग्री बिक्री गर्दै आएको छ । उक्त हार्डवेयरको १८ वटा आउटलेट रहेको वाणिज्यले जनाएको छ ।
विभागले तौल गरिएको वस्तुहरू नियन्त्रणमा लिई सिलबन्दी गरेर बिक्री वितरणमा रोक्का गरेको छ । उक्त शाखाका प्रमुख कमल शर्मा९भारतीय नागरिक० प्रहरी हिरासतमै रहेको सेडाईले जानकारी दिए ।







