काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन कुनै देशसँगको सम्झौताको आधारमा नबनेको बताएका छन् ।
माओवादीले पार्टी केन्द्रीय कार्यालयमा आज (आइतबार) आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा अध्यक्ष दाहालले भने, हामीले कुनै देश विशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन ।
उनले प्रतिगमन गर्नेहरू चुप नबसेको भन्दै प्रतिगमन विरोधी आन्दोलनबाट आएको गठबन्धन सरकार गिराउन खोजिएको बताए । दाहालले गठबन्धन बनाउँदाका आधारमा सबै टिक्नुपर्ने उल्लेख गरे ।
गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरूलाई अगाडि सारेका थियौँ । तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौँ, उनले भने, संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षामा एकमत भएर त्यसैलाई लिपिबद्ध गरेर गठबन्धन बनेको हो र यो सरकार गठन भएको हो । यो गठबन्धन सुदृढ हुँदै जाने या कमजोर हुने भन्ने कुरा गठबन्धन सुरु गर्दा जुन सैद्धान्तिक र राजनीतिक मान्यतामा खडा थियौँ, त्यसमा खडा भएर यो गठबन्धन अगाडि बढाउनुपर्छ । संविधान लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा गर्नुपर्छ ।
एमसिसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच एकमत नभएको बेला दाहालको यो अभिव्यक्ति आएको हो । उनले आफ्नो सम्बोधनका क्रममा एमसिसीको नाम भने उल्लेख गरेनन् । तर‚ गठबन्धन टुट्न नहुनेमा भने उनको जोड थियो ।
आज कसैले कुनै परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यसको ऐतिहासिक धरातल भत्काउनेजस्तै हुन जान्छ । हामीले यो गठबन्धन जुन मूल्य र मान्यतामा टेकेर बनाएका हौँ त्यसैमा दृढ रहौँ, उनको आग्रह थियो ।
दाहालले सरकार ढलाउन र चुनाव बिथोल्न विभिन्न प्रपञ्च भइरहेको पनि बताए । यो सरकार गिराउन, चुनावलाई बिथोल्नका निम्ति अनेक खालका प्रपञ्च भइराखेका छन्, उनले भने ।