लन्डन । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बेच्ने आफ्नो योजना रद्द भएपछि आलोचना भए पनि ‘अत्यधिक बहुमत’ सदस्यहरूको समर्थन आफूसँग रहेको बताएका छन् ।
एशियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले शुक्रबार इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले ५६ वर्षीय उनको चौथो कार्यकाल जित्ने आशालाई ठूलो बल दिएको छ । दुई महिनाअघि फुटबलको अन्तराष्ट्रिय निकायले सञ्चालन गर्ने प्रतियोगिताहरूको व्यावसायिक अधिकारको केही भाग निजी लगानीकर्तालाई बेच्ने उनको योजनाविरुद्ध व्यापक विरोध हुँदा इन्फान्टिनोको आगामी नेतृत्वको सम्भावना संकटमा परेको थियो । उक्त समय योजनाको विरोध गर्दै युरोपेली फुटबल निकाय युइएफए, एएफसी र उत्तर तथा मध्य अमेरिकामा फुटबल चलाउने कन्काकाफका प्रमुखहरूले ‘फुटबल कुनै व्यक्तिको होइन’ भन्दै पत्रमा हस्ताक्षर गरेका थिए ।
गत हप्ता असफल निजी लगानी परियोजनाका लागि माफी मागेका इन्फान्टिनो अहिले मार्चमा पुनः निर्वाचन जित्न बलियो स्थितिमा भएको दाबी गर्नुहुन्छ । “मलाई लाग्छ महत्त्वपूर्ण कुरा के हो भने फिफाजस्तो संस्थामा फरक–फरक विचार, फरक दृष्टिकोण हुन सक्छन्,” इन्फान्टिनोले शनिबार बीबीसीसँग भने ।
“यदि हामी लोकतन्त्र, लोकतान्त्रिक प्रक्रिया र विश्वभर सबैलाई समान मत र समान आवाज छ भन्ने कुरामा गम्भीर छौँ, फुटबल सबैको हो भन्ने कुरामा गम्भीर छौँ भने हामीले अत्यधिक, बहुमतको विचारलाई पनि सम्मान गर्नैपर्छ ।”
“म भर्खरै टोकियोबाट फर्किएको छु, जहाँ एशियाली फुटबल कन्फेडेरेसनले मलाई पूर्ण समर्थन दिएको छ। म केप भर्दे गएको थिएँ, त्यहाँ सबै अफ्रिकी देशहरूले मलाई समर्थन गरेका छन्। म विश्वभरका सबै संघहरूसँग कुरा गर्दैछु।”
नोभेम्बर १८ मा उम्मेदवारी दर्ताको अन्तिम म्याद आउँदै गर्दा अहिलेसम्म इन्फान्टिनोको विरोधमा कुनै अन्य उम्मेदवार आएका छैनन् । उनले थपे, “फरक–फरक दृष्टिकोण छन्, ती सबैलाई एकै छानामुनि ल्याउन सधैँ सहज हुँदैन तर हामीले सम्मान गर्नैपर्छ र म सबै विचार र दृष्टिकोणलाई सम्मान गर्छु। अनि फिफाका सदस्य संघहरूले नै निर्णय गर्नेछन् कि उनीहरू कसलाई अध्यक्ष चाहन्छन् र फिफालाई कसरी चलाउन चाहन्छन्।”




