काठमाडौँ । ख्यालठट्टाका नाममा सर्वसाधारणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ ।
प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक तनाव हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मङ्गलबार पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्युरो’ले जनाएको छ ।
सरकारले गत माघ १३ गते सार्वजनिक स्थलमा खिचिएका प्राङ्क भिडियो सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नेलाई कारबाहीको दायरमा ल्याउने घोषणा गरेसँगै साइबर ब्युरो सक्रिय भएको हो ।
गृह मन्त्रालयले सार्वजनिक स्थलहरूमा छायाङ्कन गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न आग्रह गरेको थियो ।