काठमाडौँ । गृह मन्त्रालय केही प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूको सरुवा गरेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार युवराज कट्टेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने नुवाकोटको प्रजिअमा नारायण रिसाल पठाइएको छ । त्यहाँ कायम मुकायम रहेका जीवन प्रसाद दुलाललाई मन्त्रालय तानिएको छ ।
राम बहादुर शाहीलाई जाजरकोट पठाइएको छ । त्यहाँका प्रजिअ प्रेम प्रसाद देवकोटालाई बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । देवकोटालाई बर्दिया सरुवा गरेसँगै त्यहाँ कार्यरत माधव थापालाई भक्तपुरको सहायकमा पठाइएको छ ।
हुम्लाका प्रजिअ गणेश आचार्यलाई अध्यागमनमा सरुवा गरिएको छ । अध्यागमनका राम बहादुर शाहीलाई झिकेसँगै त्यहाँ रिक्त रहेको थियो ।
यसैगरी कृष्ण बहादुर खड्काको रुकुम पूर्व खटाइएको छ भने भक्तपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारलाई हुम्लाको प्रजिअको जिम्मेवारी दिइएको छ ।
भक्तपुरकी सहायक परियारलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएसँगै उनी दलित समुदायबाट सीडीओ बन्ने सम्भवतः पहिलो महिला बनेकी छिन् ।
दलित समुदायबाट पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेको भएपनि महिलामा परियार पहिलो भएको जनाइएकाे छ । त्यसाे त निजामती सेवामै दलितहरु कमै रहेकाे र त्यसमा पनि महिलाकाे संख्या अझै न्यून छ ।
शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी कास्की रुपा गाउँपालिका–१ स्थायी निवासी परियार भक्तपुरमा सहायक सीडीओ हुनुअघि तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव सँगालेकी छिन् ।
तीन वटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा समेत काम गरिसकेकी उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् ।