खोटाङ। राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लङ्घनका दोषीहरूलाई उम्मेदवार नबनाउन आग्रह गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग,प्रदेश–१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरूलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०७९ साल वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गरी मानव अधिकार उल्लङ्घनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेदवार नबनाउन आग्रह छ ।’
साथै निर्वाचनमा समानुपाती समावेशी सिद्धान्तको आधारमा उम्मेदवारी तय गर्न, निर्वाचन प्रचार–प्रसारको क्रममा आयोजना गरिने कार्यक्रमहरूमा बालबालिकाहरूको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ ।
