ओखलढुङ्गा । स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् ।
स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । ‘केही विविध कारणले जागिर छाड्ने पनि हुनुहुन्छ, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिनुभएको हो’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले भने ।
देवी आधारभूत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे मावि जेसे पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योती मावि चित्रेका मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तर खानिका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्वीकृत भएको इकाइ प्रमुख गजुरलले बताए ।
यस्तै हिमगंगा मावि रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभूत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभूत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजीनामा स्वीकृत भएको छ ।
सोडान्तर आधारभूत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभूत विद्यालयका शिक्षक तोयानाथ काफले, चन्चला आधारभूत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तर खानिका शिक्षक शंखवीर राईले पनि शिक्षण पेसा छोडेको शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाले जनाएको छ । कार्यालयका अनुसार राजीनामा दिने अधिकांश शिक्षकहरूको पेन्सन भइसकेको छ । यस्तै राजीनामा दिने पाँच शिक्षकले अनिवार्य अवकाश पाउन लागेका थिए ।







