काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जटिल भएको टिप्पणी गरेका छन् ।
संसद् भवनबाहिर संवाददाताहरूसँग कुरा गर्दै पाण्डेले सरकारले पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट व्यवस्था गर्न नसकिने दाबी गरे ।
उनले भने, ‘कतिपय कुरामा पुरानाको निरन्तरता छ । यसमा गर्न सकिने र नसकिने जम्मै कुरा हालिएको छ । यो कुरा बजेटले सुनिश्चित नगरेसम्म कार्यान्वयनको कुनै टुङ्गो छैन । यसले राखेको लक्ष्यलाई पैसामा जोड गरेर हाल्यो भने यसले २५ खर्ब माग गर्छ । हाम्रो कोषमा पाँच खर्ब पनि पैसा छैन ।’