काठमाडौँ । नेपालले आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको यूकेएम ओभलमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११ बजेबाट सुरु हुनेछ ।
दुवै टोली लगातार दोस्रो जितका साथ विश्वकपमा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोली दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि छनोट हुनेछ ।
नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।