काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका समस्या समाधान गर्न आग्रह गरेका छन्।
मुख्यमन्त्री अधिकारीले मङ्गलवार काठमाडौंमा प्रचण्डलाई भेटेर ८ बुँदे आग्रह गरेको बताए।
‘प्रधानमन्त्रीसँग संघीय निजामती ऐन, प्रहरी समायोजन, प्रदेश र सङ्घका साझा अधिकार, दोहोरोपना हटाउने विषयमा छलफल भयो,’ उनले भने।
प्रदेश सञ्चालनका समस्याका बारेमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको पनि मुख्यमन्त्री अधिकारीले बताएका छन्।
समस्या समाधान गर्न प्रचण्ड आफूसँग समान निष्कर्षमा पुगेको पनि उनले दाबी गरेका छन्।
संविधानले प्रदेशलाई दिएको एकल र साझा अधिकार कार्यान्वयन गर्न संघीय सरकारले कानुन नबनाउँदा समस्यामा परेको छ।
प्रदेश सरकारले संविधान अनुसार काम गर्न नपाएको भन्दै संघीय सरकारको आलोचना गर्दै आएका छन्।