काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पपुवा न्युगिनी (पिएनजी) ले २४७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरको त्रिवि मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन जोड्यो।
पिएनजीका लागि तीन ब्याटरले अर्धशतक प्रहार गर्न सफल भए। ओपनर किप्लिन डोरिगाले ४४ बलमा ५५ रन बनाए। अर्का ओपनिङ ब्याट्सम्यान हिरी हिरी ७७ रनको योगदान दिए।
सेसे बाउले नटआउट ८१ रन जोडे। उनले १०६ बलमा १० चौका प्रहार गरे।
बलिङमा युएईका आयन खानले ३ विकेट लिए भने जुनइद सिद्धिकी र जहूर खानले २-२ विकेट लिए।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्त्वपूर्ण साबित हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये पहिलो खेल जितेसँगै अब एक जिते नेपालको लिग-२ बाटै एक दिवसीय मान्यता जोगिनेछ। बाँकी तीनै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।
सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अङ्क जोड्दा दोस्रो बनेको ओमानको ४४ अङ्क छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अङ्क छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अङ्क छ।
पाँचौँ स्थानको नेपालले ३३ खेलबाट ३४ अङ्क जोडेको छ। युएई ३२ खेलबाट ३१ अङ्क जोड्दै छैटौँ स्थानमा छ। पुछारको पिएनजीको ३३ खेलबाट ९ अङ्क छ।