जाजरकोट । जगदुल्ला गाउँपालिका डोल्पाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ ।
गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रमको महत्त्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए ।
गाउँपालिकाले स्वास्थ्य बिमाका लागि १९ लाख २८ हजार आठ सय ५० रुपैयाँ स्वास्थ्य बीमाबोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।
समुदाय स्तरमा यस कार्यक्रमको महत्त्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा विमितको सङ्ख्या नबढेको स्वास्थ्य बीमाबोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए ।