काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।
चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चीनबाट उडेको एयरलाइन्सले १३० जना यात्रु बोकेर पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झरेका छन् ।
१ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।







