काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन्।
दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको दाबी छ।
नेपाल-भारतमैत्री समाजले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पारे । ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहोर्याए । उनले दुई मुलुकबीच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरू भए समाधान गर्दै अघि बढ्नुपर्ने बताए। अध्यक्ष ओलीले न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए।