२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पैसा कमाउन ठूलै व्यापार गर्नुपर्छ भन्ने छ र!’

अ+ अ-

कमलामाई (सिन्धुली) । ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ। पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन। सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ।’

सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिरहेकी छन् । कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उनले ३० रुपैयाँमा लगानी गरेर व्यापार सुरु गरेकी हुन्। उक्त पैसाले ३० वर्षअघि प्रतिमुठा पाँचमा रुपैयाँमा छ मुठा फापरको साग किनेर बेचेको उनलाई हिजोजस्तै लाग्छ।

व्यापार सुरु गर्दासम्म उनका आँखा चम्किला, दाँत भरिला थिए। कपालको रङ कालो, शरीरको छाला भरिलो थियो। अहिले आँखा धमिलो हुँदै गएका छन्। दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ। शरीरको छाला चाउरिँदै गयो। तर उनले व्यापार छाडेकी छैनन्।

७९ वर्षीया दर्जी सानो लगानीमा स–साना व्यापार गरेरै जीवन र जीविका धान्दै आएका छन्। रोगले थलिएका श्रीमान्को दरिलो आड र भरोसा उनलाई छ। घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उनैले जोहो गर्नुपर्छ।

यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ। सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटबजारमा व्यापार गर्न आएकी दर्जी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बताइन्।

‘तीस वर्ष पहिले ३० रुपैयाँ सापटी गरेर व्यापार सुरु गरेको थिएँ। आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घर व्यवहारको खर्च टार्न सहज भएको छ,’ उनले भनिन्।

शनिबारे हाटबजारमा दसैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो। कपडा, भाँडाकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा ठूलै व्यापार गर्ने व्यापारी थिए। सेवाग्राहीको उस्तै खचाखच। त्यही भीडमा निलो प्लाष्टिक बिच्छ्याएर अदुवा, लसुन, गुन्द्रुक, जिरे खुर्सानी भाग–भाग लगाएर उनी बेच्न बसेकी थिइन्।

विगत सम्झिँदै उनले सुनाइन् ‘म पहिलादेखि यस्तै व्यापार गर्ने हो। तन्नेरी उमेरमा पनि श्रीमान् रक्सी पिएर झगडा गर्ने, कुट्ने–पिट्ने र घर व्यवहारको वास्तै नगर्ने भएपछि आफैँले खर्च टार्ने गर्नुपर्थ्यो। खर्च टार्ने उपाय केही नभएपछि काम खोज्न भतारिए। काम नपाएपछि बिरक्तिएर घर फर्किँदा खम्बे चौरमा आफूजस्तै दिदी–बहिनीले दैनिक भान्छामा प्रयोग हुने तरकारीजन्य वस्तु व्यापार गरेको देखे। नजिकै गएर उनीसँग व्यापार गर्ने तरिका सिके। व्यापार सुरु गर्न श्रीमान्सँग पैसा मागेको ३० रुपैयाँ त्यो पनि फिर्ता गर्ने शर्तमा दिए । त्यही पैसाले गाउँका किसानकामा गएर प्रतिमुठा पाँचका दरले फापरको साग किने। त्यो छ मुठा साग बजार ल्याएर प्रतिमुठा १० का दरले बेच्दा ३० नाफा कमाएँ। अर्को दिन त्यही नाफा आएको पैसाले अघिल्लो दिन जसरी नै व्यापार गरे। नाफा आएको ३० रुपैयाँ श्रीमानलाई फिर्ता दिए। तीस रुपैयाँले आफ्नो व्यापार बढाउँदै आज यो स्थानमा आइपुगेको छु।’

फुटपाथमा गरेको व्यापारमा उनी हाल दैनिक पाँच हजारसम्मको कारोबार छिन्। आफ्नो एक्लो सङ्घर्षमा सानो लगानीबाट सुरु गरेको स–सानो व्यापार परिवारको बाच्ने गतिलो आधार बनेको छ।

मौसम अनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याई बेच्दा घाटा नहुने उनले बताइन्। श्रीमान्सँग सापटी लिएको ३० रुपैयाँबाट व्यापारिक यात्रा सुरु गरेकी दर्जीले दृढ इच्छाशक्ति, इमान्दार प्रयास र आँट भए व्यापार गर्न धेरै लगानी नचाहिने आशय व्यक्त गरिन्। ‘थोरै लगानीमा सानै भए पनि जसले व्यापार सुरु गर्छ, उसले भोकै बस्नु पर्दैन। व्यापार नै जीविका धान्ने बलियो आधार बन्छ,’ उनले भनिन्।

ढाटीमाया दर्जीले जसरी व्यापार गरेर आर्थिकरूपमा सबल र आत्मनिर्भर बन्ने महिलाको यकिन तथ्याङ्क जिल्लाका कुनै निकायसँग छैन। सानो लगानीमा स–सानै व्यापार गरेर मालामाल कमाइरहेका र समाजमा उदाहरणीय कहलिँदै गएका महिला भने सिन्धुलीमाढी बजार क्षेत्रको फुटपाथमा बाक्लै भेटिन्छन्।

कमलामाई–५ बोजेकी फूलमाया वाइबाले सिन्धुलीमाढीमा साप्ताहिकरूपमा लाग्ने शनिबारे हाटबजार, धुराफाँटमा लाग्ने बुधबारे हाटबजार, भिमानमा लाग्ने शुक्रबारे हाटबजार र अन्य दिन बजार क्षेत्रको फुटपाथमा मौसमी तरकारी, तरकारीजन्य वस्तु तथा कागती, अम्बा, बयरजस्ता फलफूलको व्यापार गर्छिन्।

श्रीमान् गणेश वाइबा बितेपछि तीन सन्तानको हुर्काइ, पढाइसहित घरव्यवहारकोे सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो। उनले २० वर्षअघि सानो लगानीमा व्यापार सुरु गरेकी हुन्। यसबाट अहिले उनी उत्साहित मात्रै हुनुहुन्न, आत्मनिर्भर पनि बनेकी छिन्। व्यापारबाट महिनामा १५ हजार माथि नाफा कमाउने उनले बताइन्।

‘खेतीपाती गरेर खाऊ भने आफ्नो जग्गा छैन, यही व्यापारको कमाइबाट खर्च टार्छु। भान्छामा प्रयोग हुने सामान बिक्दैन कि भन्ने चिन्ता हुँदैन। सबैलाई दैनिक खान चाहिन्छ,’ उनले भनिन्।

भान्छामा दैनिक प्रयोग हुने उपभोग्य वस्तु गाउँका किसानबाट थोरै–थोरै ल्याएर रु पाँचदेखि १५ सम्म नाफा हुने गरी बेच्छिन्। किसानले थौरे मात्रामा उत्पादन गरेका अग्र्यानिक स्थानीय उत्पादन बजारसम्म ल्याउँदा उपभोक्ताले खुसी भएर किन्ने गरेको उनको अनुभव छ।

कमलामाई–६ की देवकुमारी आले सिजनअनुसार हरियो मकै पोलेर बेच्छिन्। किसानसँग प्रतिगोटा १० रुपैयाँका दरले हरियो मकै किनेर पोलेर २० देखि ३० रुपैयाँ सम्म बेच्ने गरेको उनले बताइन्। उनले वर्षौंदेखि हरियो मकै पोलेर बेच्दै आउनुभएको छ । सिजनअनुसारका स्थानीय उत्पादन हरियो अखबरे खुर्सानी, अमला, बेसार र साग बेचेर नाफा कमाएको पैसाले घर व्यवहार चलाउँदै आएकी छन्। स्वास्थ्योपचार र औषधिमा सबैभन्दा धेरै खर्च हुन उनले सुनाइन्।

‘व्यापार राम्रो भएको महिना १७ हजार रुपैयाँसम्म कमाएको छु। व्यापार गर्न लजाउन हुँदैन, आफ्ना हातगोडा चलुन्जेल आफ्नै पौरखमा बाँच्नुपर्छ,’ उनले भनिन्। आफूले खाएर बचेको करेसाबारीको उत्पादन थोरै भए पनि बारीबाटै बिक्ने भएपछि जिल्लाका मुख्य सडकले छोएका र बजारको सहज पहुँच भएका गृहिणी पनि मेहनती र उद्यमशील बन्दै गएका छन् ।

पहिला खेर जाने जङ्गली फलदेखि खेतबारी र करेसाबारीमा उत्पादन भएका तरकारीजन्य वस्तु तथा सिजनअनुसारका फलफूल पछिल्लो समय आफैँ बजार पुर्‍याएर बिक्री गरी आम्दानी लिन थालेका छन्। यसले यहाँका महिलालाई आर्थिकरूपमा सबल र आत्मनिर्भर बनाउँदै लगेको छ।

महिला आर्थिकरूपमा सबल र आत्मनिर्भर भएमा महिलामाथि हुने विभिन्न हिंसाजन्य गतिविधिमा कमी आउने जिल्लाका सफल व्यापारी तथा व्यवसायी महिला बताउँछन्। यसका लागि सरकारले परनिर्भर जीवन बाँचिरहेका महिलालाई सानो लगानीमा पनि व्यापार, व्यवसाय गर्न सकिन्छ भनेर आवश्यक जानकारी दिने, व्यापार, व्यवसायमा लागेकालाई प्रोत्साहन गर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने, स्वरोजगारीमूलक सीप सिकाउने र व्यापार, व्यवसाय गर्न सहज वातावरण बनाइदिनुपर्ने उनीहरूको धारणा छ।