काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् ।
चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गरेका हुन् ।
धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै ओलीले भने, ‘केही बुझ्नु भयो तपाईँले ? त्योभन्दा केही छर त्यसमा ?’ प्रधानमन्त्री ‘प्रचण्ड’ले यो एक वर्षको अवधिमा के-के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको ओलीको भनाइ थियो ।
ओलीले प्रधानमन्त्री ‘प्रचण्ड’ र सत्ता साझेदार अर्को दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर सार्वजनिक रूपमा भन्न चुनौती दिए ।
नेकपा एमालेले सरकारको कामलाई नजिकबाट खबरदारी गरिरहेको भन्दै ओलीले नराम्रा काम गरेर उम्किन्छु भन्ने नसोच्न चेतावनी दिए ।
‘कसैले ढाँट छल गर्न खोज्ला, कसैले लुकिछिपीकन नचाहिने काम गर्न खोज्ला, तर नेकपा एमालेले दूरबिन लगाएर कुनाकुनामा हेरेको छ,’ ओलीले भने, ‘सरकारका काम पाइला पाइलामा हेरेको छ । हरेक ठाउँमा एमालेले हेरेको छ । तसर्थ नराम्रा काम गरेर उम्किन्छु भनेर कसैले नसोचे हुन्छ ।’
नेपाली काँग्रेसलाई धार्नी र माओवादी केन्द्रलाई बिसौलीको संज्ञा दिँदै ओलीले उनीहरू एजेण्डाविहीन पनि भएको बताए । तर एमालेसँग राष्ट्रियताको रक्षा गर्ने अभिभारा भएको दाबी उनले गरे ।