काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी दल काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइरहेको बताएकी छन् । बुधवार प्रेस सेन्टर झापाले गरेको कार्यक्रममा उनले ठाडो निवेदन दिएकै भरमा उपप्रधानमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताइन् ।
उनले काँग्रेसले सुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताइन् । उनले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्ने कुरामा सरकार सकारात्मक रहेको समेत दाबी गरिन् ।
‘संसद्मा विभिन्न प्रश्नहरू उठिरहेका छन् । खासगरी उपप्रधान एवं गृहमन्त्रीको बारेमा जे कुराहरू उठिरहेका थिए, त्यो बुझ्दा एउटा ठाडो निवेदन गएको र दर्ता पनि नभएको भन्ने छ । समग्र विषयको छानबिन गर्ने कुरामा त कुनै अन्यथाको कुरा भएन । जुन बेलाबाट सहकारीभित्र समस्या देखा परे, त्यसमा छानबिन गरी समस्या समाधान गर्ने कुरामा कसैको असहमति हुँदैन, ‘उनले भनिन्, ‘राजनीतिक पूर्वाग्रहबाट आरोप लगाएर छानविन समिति गठनको माग गर्नु मिल्दैन ।’
मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको बताइन् ।