काठमाडौँ । न्युरोडस्थित आरबी कम्प्लेक्स (रणमुक्तेश्वर बिजनेस कम्प्लेक्स) र पिपुल्स प्लाजाले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म विभिन्न कर नतिरेको भेटिएपछि महानगरले ७ दिनभित्र विवरण र ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ ।
यी दुवै प्लाजा वडा नम्बर २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित तीन आर्थिक वर्षको कर तिरेको छैन । बहाल कर दुवैले तिरेका छैनन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले दुवै कम्प्लेक्स सञ्चालकसँग करसम्बन्धी विवरण माग्दा यस्तो अवस्था देखिएको हो ।
त्यसपछि महानगर टोलीले कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालय गएर बक्यौता तिर्न पत्र दिएको छ ।