काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा काँग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।
शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभई काँग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् ।
आफू बसेको ठाउँमा काँग्रेस सांसदहरू आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए ।
उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि काँग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा धकेलाधकेल भएको थियो ।
काँग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।
सदनमा काँग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काँग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेका थिए । ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरू पनि धकेलाधकेलमा उत्रिएका हुन् ।