काठमाडौँ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला टेकेको दिन अर्थात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रूपमा मनाउने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा दिवस मनाउने घोषणा गर्दै त्यस अवसरमा हिमाली पर्यटन प्रवर्धनमा विशिष्ट योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्थालाई सम्मान गरिने जनाइएको छ ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेको ७१ वर्ष पुगेको छ ।
यसैबीच भोलि बुधबार मे २९ तारिखका दिन विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ । सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।
पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।
यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाए भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बन्यो ।
सरकारले आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिने बजेटमा घोषणा गरेको छ । नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको ‘प्रोफाइल’ तयार गरिनुका साथै पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने जनाइएको छ । पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने पनि उल्लेख छ ।
यसैगरी छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित ‘रोड सो’, मेला, महोत्सवजस्ता पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने, सीमावर्ती जिल्लामा छिमेकी मुलुकका पर्यटक लक्षित पर्यटकीय स्थल, बजार, स्वास्थ्य सुविधा विस्तार गरी सीमावर्ती पर्यटन प्रवर्द्धनका बजेट वक्तव्यमा उल्लेख छ ।
सरकारले हवाई पूर्वाधारलाई प्राथमिकता दिँदै नागरिक उड्डयन पूर्वाधारतर्फ रु. तीन अर्ब ७७ करोड विनियोजन गरेको छ । पर्यटन क्षेत्रतर्फ रु. ११ अर्ब ९१ करोड विनियोजन गरिएको छ ।







