काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका लागि अर्थ सचिव मधुकुमार मरासिनी मन्त्रालयमै सुतेको बताएका छन् । बजेट आउनु अघिल्लो दिन अर्थसचिव मरासिनी मन्त्रालयमा म्याट्रेसमै सुतेको अर्थमन्त्री पुनले बताएका हुन् ।
‘बिहान ४ बजेसम्म मन्त्रालयमै थिएँ’, अर्थमन्त्री पुनले भने, ‘अर्थसचिव त म्याट्रेस लिएर आउनु भएको रहेछ, यतै सुत्नु भयो । राजस्व सचिव ४ बजे घर जानु भयो ।’ तयारीको सिलसिलामा धेरै हतार रहेको र राजनीतिक दबाबका बीच बजेट आएपछि आफू रिल्याक्स मुडमा रहेको मन्त्री पुनले बताए ।
‘राजनीतिक रूपमा संसद्मा बजेट पेस हुन्छ कि हुँदैन भन्ने थियो,’ पुनले भने, ‘अहिले रिल्याक्स मुडमा छौँ ।’ बजेटलाई अन्तिम रूप अर्थमन्त्री तथा सचिवहरूले दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ ।
प्रत्येक वर्षको जेठ १५ मा संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार नै अर्थमन्त्री पुनले मङ्गलवार बजेट ल्याएका हुन् ।
उक्त बजेट सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठित बजेटको मस्यौदा लेखन समितिले लेखेको हो ।







