काठमाडौँ । केही दिनअघि मात्रै असफल अनशनबाट उठेका डा. गोविन्द केसीले फेरि सरकारलाई नयाँ अल्टिमेटम दिएका छन् । ७ दिनभित्र प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने सहितका माग अघि सार्दै उनले फेरि आमरण अनशनको चेतावनी दिएका हुन् ।
यसअघि डा. केसी गत वैशाख २९ गते प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनशन बसेका थिए । तर, ४ दिन अनशन बस्दा पनि कसैले वास्ता नगरेपछि उनी यत्तिकै उठ्न बाध्य भए ।
जेठ ३ गते उनले सरकार अनैतिक बनेको आरोप लगाउँदै एकतर्फीरुपमा अनशन तोडेका थिए । तर, त्यसको एक महिना पनि व्यतीत नहुँदै केसीले २३ औँ अनशनका लागि अल्टिमेटम दिएका हुन् ।
डा. केसीले अहिलेअघि सारेका सात बुँदे मागको पाँचौँ बुँदामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख छ ।
केसीले भनेका छन्, ‘सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय हुने गरी र युद्ध अपराध र मानवता विरोधी जघन्य अपराधका दोषीहरू दण्डित हुने गरी निष्पक्ष रूपमा सङ्क्रमणकालीन न्यायको प्रक्रिया शीघ्र टुङ्ग्याइयोस् । र, सो अपराधमा संलग्न प्रमुख नेताको हैसियतले प्रचण्डको प्रधानमन्त्री पदबाट राजीनामा ।’
डा. केसीले दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेका छन् । यो फैसलाविरुद्ध पुनरावेदन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने र फैसला सच्याउनुपर्ने उनको हठ छ ।







