काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार निजामती कर्मचारीका सन्ततिलाई उपलब्ध गराउने शैक्षिक प्रोत्साहन वृत्तिको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।
निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७८ अनुसार गत चैत १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेकोमा उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।
नतिजा सूचीमा चित्त नबुझ्ने वा गलत विवरण वा कागजात पेस गरेर छनोटमा परेकालाई गुनासो तथा उजुरी दिन आह्वान गरिएको छ । आधार र कारणसहित १५ दिनभित्र परेका उजुरीउपर छानबिन गरेर आवेदक विद्यार्थीको नाम हटाइने मन्त्रालयले जनाएको छ ।