काठमाडौँ । कोशी प्रदेशका लेखा अधिकृतहरूको आन्दोलनप्रति कोशी प्रदेशमा क्रियाशील राष्ट्रियस्तरका ट्रेडयूनियनहरुले ऐक्यबद्धता जनाएका छन् ।
कोशी प्रदेशस्थित नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्य समिति, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल प्रदेश कार्य समिति, नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश कार्य समिति र आधिकारिक ट्रेड युनियन, मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै समान वृत्ति विकासको सुनिश्चितताका लागि गरिएको आन्दोलन प्रति ऐक्यबद्धता रहेको जनाएका हुन् । सबै सेवा समूहका कर्मचारीहरूको समान वृत्ति विकासको सुनिश्चितता हुने गरी माग सम्बोधन गर्न कोशी प्रदेशमा क्रियाशील राष्ट्रियस्तरका ट्रेडयूनियनहरुले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ ।
‘विगत केही दिन यता प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीहरूले वृत्ति विकास फराकिलो पारियोस् भनी गरिएको चरणबद्ध दबाबका कार्यक्रम आयोजना गरेको विषयप्रति हामी राष्ट्रिय स्तरमा क्रियाशील प्रदेश तहका ट्रेड युनियनहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समान वृत्तिविकासको सुनिश्चितताका लागि गरिएको उक्त आन्दोलन प्रति हाम्रो समेत ऐक्यबद्धता रहेको ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदै सबै सेवा समूहका कर्मचारीहरूको समान वृत्ति विकासको सुनिश्चितता हुने गरी माग सम्बोधन गर्न जोडदार माग गर्दछौ ।’

प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै प्रदेश तहका लेखा अधिकृतहरूले काम छाडेर आन्दोलनमा उत्रिएका छन् । लेखा अघिकृतहरुको आन्दोलनका कारण कोशी प्रदेशका १४ जिल्लामा काम बन्द छ भने प्रदेश सरकारको खर्च शून्य छ । आर्थिक वर्षको अन्त्यमा लेखा अधिकृतहरू आन्दोलनमा उत्रिएपछि सरकारी भुक्तानी रोकिएको हो ।
सम्बन्धित समाचार : आन्दोलित लेखा अधिकृतहरूले आर्थिक मामिला मन्त्रीलाई बुझाए ज्ञापन पत्र
सम्बन्धित समाचार : निजामती ऐनले विभेद गरेको भन्दै कोशीका लेखा अधिकृत आन्दोलनमा







