काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभाको बैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो ।
यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली काँग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।
त्यही कारण ६ र ८ असारमा नगर सभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो । सोमबार मेयर राजन पौडेलले बैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।
नगर सभामा झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नगर सभा सञ्चालन हुन सकेको छैन ।







