काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।
सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले परिवर्तित राजनीतिक घटनाक्रमअनुसार पार्टीले नयाँ ढङ्गले अगाडि बढ्ने निर्णय गरेको बताए । यद्यपि, पार्टीको पदाधिकारी बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने उनले बताए ।
तर, सो पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले भने सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीको आधिकारिक धारणा बनिनसकेको जानकारी दिए । पार्टीले विकसित राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे बैठक बसेर निर्णय गर्ने उनले बताए ।
पार्टीका महासचिव राईले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने बताएका थिए । उनले प्रतिनिधि सभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने बताए ।
सोही जिज्ञासामा भर्खरै महासचिव राईले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने धारणा बनाएको र त्यसमा साँझसम्म पदाधिकारी बैठक बसेर निर्णय लिने बताए ।