काठमाडौँ । पूर्वाधार विकास समितिले नागढुंगा सुरुङमार्गमा तीनदेखि ६ महिनाभित्र आरएफआईडी प्रविधिमार्फत मात्रै टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउन भनेको छ ।
आज सुरुङमार्गको स्थलगत अवलोकन पछि समिति सभापति आशिष गजुरेलले नगद भुक्तानीको व्यवस्थाले टोल संकलनमा समय लाग्ने र सवारीसाधनको लामो लाइन लाग्न सक्ने भएकाले कार्डमार्फत भुक्तानी गर्दा कम शुल्क लाग्ने प्रणाली लागू गर्न भनेको बताए। उनकाअनुसार आरएफआईडी कार्डबाट २०० रुपैयाँ र नगद भुक्तानी गर्दा ३०० रुपैयाँ शुल्क लिने व्यवस्था गर्न सके कार्डको प्रयोग बढाउन सकिनेछ । हाल आरएफआईडी कार्ड र नगद दुवै माध्यमबाट टोल शुल्क तिर्न सकिने व्यवस्था छ । आरएफआईडी कार्ड आठवटा बैंकमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको र एउटा कार्डको मूल्य ५ सय रुपैयाँ रहेको छ । उक्त कार्ड पाँच वर्षसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । कार्डमा रकम रिचार्ज गरेपछि टोल प्लाजामा रहेको डिटेक्टरले कार्ड पहिचान गरी शुल्क कटौती गर्ने र गेट स्वतः खुल्ने प्रणाली रहेको छ ।
गजुरेलले आरएफआईडी प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सडक विभाग र सडक बोर्ड नेपाललाई समयसीमा तोकेर काम अघि बढाउन भनेको बताए।
सभापति गजुरेलले भने,‘आइतबार कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क तिरेपछि मात्रै यात्रा गर्न पाइने व्यवस्था लागू हुँदैछ । सडक बोर्ड नेपालले उक्त व्यवस्था लागू गर्न लागेको हो । सुरुङमार्ग निजी क्षेत्रमार्फत सञ्चालन भइरहेको छ । यसै सन्दर्भमा आज हामी पूर्वाधार विकास समितिलगायतका माननीय सदस्यहरू यहाँको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा टोल शुल्क संकलनको प्रणाली कस्तो रहेछ भन्नेबारे जानकारी लिन आएका हौँ । यहाँ प्राप्त जानकारीअनुसार टोल शुल्क दुई तरिकाले तिर्न सकिने व्यवस्था रहेछ । एउटा आरएफआईडी कार्डमार्फत र अर्को नगद भुक्तानी गरेर । आरएफआईडी कार्डमा चिप जडान गरिएको हुन्छ । टोल गेटमा रहेको डिटेक्टरले कार्ड पहिचान गरेपछि गेट आफैँ खुल्छ र सवारीसाधनले यात्रा गर्न सक्छ । हामीले सडक विभाग र सडक बोर्डलाई केही समयपछि आरएफआईडी कार्डमार्फत मात्रै टोल शुल्क तिर्न सकिने व्यवस्था मिलाउन सुझाव दिएका छौँ । नगद भुक्तानी गर्दा खुद्रा पैसाको व्यवस्थापन गर्नुपर्ने र त्यसमा समय लाग्ने भएकाले सवारीसाधनको लामो लाइन लाग्न सक्ने देखिन्छ । यसलाई अझ प्रभावकारी बनाउन आरएफआईडी कार्डमार्फत भुक्तानी गर्ने व्यवस्थालाई प्रोत्साहन गर्न पनि हामीले सुझाव दिएका छौँ । उदाहरणका लागि, आरएफआईडी कार्डमार्फत भुक्तानी गर्दा २०० रुपैयाँ र नगद भुक्तानी गर्दा ३०० रुपैयाँ शुल्क निर्धारण गर्न सकिन्छ । यसो गर्दा आरएफआईडी कार्डको प्रयोग बढ्न सक्छ । विदेशमा नगद भुक्तानी गर्दा दोब्बर शुल्क तिर्नुपर्ने व्यवस्थासमेत लागू गरिएको पाइन्छ । अहिले हेर्दा सुरुङमार्ग सञ्चालनको व्यवस्थापन राम्रोसँग मिलाइएको पाएका छौँ । सुरक्षाको दृष्टिकोणले पनि यहाँ अग्नि नियन्त्रण प्रणाली र अलार्म प्रणालीको व्यवस्था गरिएको रहेछ । प्रविधिमैत्री ढङ्गले सुरुङमार्ग सञ्चालनको व्यवस्थापन गरिएको पाएका छौँ । त्यसैले आज हामी ढुक्क भएर यहाँबाट फर्किएका छौँ । सुरक्षाको दृष्टिकोणबाट व्यवस्थापन राम्रो छ । समग्र सञ्चालन व्यवस्था पनि ठिक छ । तर नगद भुक्तानीको प्रावधान रहेकाले शुल्क संकलनमा केही समय लाग्ने देखिएको छ । त्यसैले तीनदेखि छ महिनाको समयसीमा र लक्ष्य निर्धारण गरेर पूर्ण रूपमा आरएफआईडी प्रविधिमार्फत मात्रै टोल शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउन हामीले सम्बन्धित निकायलाई सुझाव दिएका छौँ ।’
गजुरेलले सुरुङमार्गको सञ्चालन तथा सुरक्षा व्यवस्थापन सन्तोषजनक रहेको समेत बताए । सुरुङभित्र अग्नि नियन्त्रण प्रणाली, अलार्म प्रणालीलगायतका सुरक्षा प्रविधिको व्यवस्था गरिएको पाइएको उनको भनाइ रहेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउँदैछ । सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार आयोजनाले टोल शुल्क उठाउन लागेको छ ।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने ६० तोकिएको छ ।
त्यस्तै, मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने ८० दस्तुर तोकिएको छ । बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौं प्रवेश गर्दा २६० र काठमाडौँबाट प्रस्थान गर्दा २ सय दस्तुर तोकिएको छ ।




