काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संघीय संसद, प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य माधव सापकोटा ‘सुबोध’ त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा दीक्षित भएका छन् ।
माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म भएको जनयुद्धको उद्गमस्थलमध्येको एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा सेतिदेवी पञ्चकन्यामावि कुविण्डेबाट हासिल गरेका थिए । तर तत्कालीन राज्यद्वारा अपनाइएको दमनकारी नीतिका कारण उनी माध्यमिक तहको पढाइ पूरा नगरी भूमिगत भएका थिए ।
माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आबद्ध सापकोटा राज्यका कारण विद्यालयमा उपस्थित हुन नसक्ने अवस्था आएपछि भूमिगत भएका थिए ।
जनयुद्धका क्रममा शैन्य र राजनीतिक फाँटमा माथिल्लो तहसम्म पुगेका उनी सुरक्षाफौजसँगको दोहोरो भिडन्तमा पटक पटक घाइते भएका थिए । सापकोटाले शान्ति प्रक्रिया प्रारम्भ भएपछि जनमुक्ति सेनाका लागि राखिएको क्यान्टोनमेन्टमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिएका थिए ।
उनले चितवनको शक्ति खोरमा तत्कालीन जनमुक्ति सेनाका लागि खोलिएको जनशैनिक माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए । उनले प्राइभेटबाट आइए, स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।