काठमाडौँ । सामाजिक सञ्जाल फेसबुककमा विभेदपूर्ण टिप्पणी गर्नेलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
बुधबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले जातीपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखकको महावु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना तिराउने फैसला गरेको हो ।
समग्र दलित समुदायमाथि अपमान तथा विभेद गर्ने गरी सिंहले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले गत साउन २२ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेकोमा बुधबार अदालतले उक्त फैसला गरेको हो ।
गत साउन २ मा कर्णाली प्रदेश सरकारका प्रमुखको निजी सचिवालयमा नियुक्ति भई कार्यरत कर्मचारीको विवरण उल्लेखित सूचना प्रकाशित भएको थियो ।
उक्त सूचना विनोद बुढा नाम गरेका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकोमा प्रतिवादी सिंहले प्रदेश प्रमुखको सचिवालयमा कार्यरत कर्मचारीलाई जातीय भेदभाव गर्ने गरी ‘सबै डुम छन् त यार अरु कोही रहेनछन् त’ भन्दै टिप्पणी गरेका थिए । जातीय विभेद हुने गरी सिंगो दलित समुदायको आत्मसम्मानलाई चोट पुर्याउने सामाजिक सद्भाव भड्काउने कार्य गरेको भन्दै भुलले रिट निवेदन दायर गरेका थिए ।