काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँ महानगरपालिकामा कवाड व्यवसायीप्रति गरेको ज्यादतीको आपत्ति जनाएको छ ।
जनमतका प्रवक्ता डा. शरद यादवले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले पछिल्लो समयमा कवाड व्यवसायीहरूलाई विस्थापित गराउन खोजेको दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि अदालतको आदेशविरुद्ध समेत जबरजस्ती डोजर चलाउने, व्यवसायीहरूमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गर्ने र आतंक मच्चाउने काम हुँदै आएको छ । कुनै पनि स्थानीय तहद्वारा ल्याइएको ऐन, कानून, नियमावली वा मापदण्ड देशको संविधानभन्दा माथि हुन सक्दैन र नागरिकको संवैधानिक अधिकार खोस्ने ऐन, कानून वा नियमावली स्वतः खारेज हुने कुरासमेत स्मरण गराउन चाहन्छौँ ।’
उनले काठमाडौँ महानगरपालिकाद्वारा नगर प्रहरी लगाएर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हनन रोक्न सरकारको ध्यानाकर्षणसमेत गरेका छन् ।