बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको उल्लेख गर्दै ती सम्भावनाहरूलाई अवसरमा बदल्न आवश्यक रहेको बताएका छन्।
शनिबार बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा “केही छैन” भन्ने गलत धारणालाई तोड्न आवश्यक रहेको धारणा व्यक्त गरे। “नेपालमा प्राकृतिक स्रोतसाधनको ठूलो सम्भावना छ। हामीले ती स्रोतसाधनलाई उपयोग गर्दै उद्यमशीलता विकास गर्न सके रोजगारी पनि प्रशस्त सिर्जना गर्न सकिन्छ,” उनले भने।
ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्दै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए। “मुलुकको आर्थिक समृद्धिका लागि स्थिर नीति, लगानीमैत्री वातावरण र आन्तरिक लगानी प्रवर्द्धन अपरिहार्य छन्। यसो गर्न सकियो भने मात्रै उत्पादन वृद्धि र रोजगारी सिर्जना सम्भव छ,” उनले बताए।
महासंघका अध्यक्ष ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको मागअनुसार महासंघको विधान संशोधन गरिएको उल्लेख गर्दै यस संशोधनले तल्लो तहका संघहरूबाट महासंघसम्म पुग्ने अवसर सिर्जना गरेको बताए।
वि.सं. २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ पश्चिम नेपालकै अग्रणी संस्था भएको उल्लेख गर्दै उनले संघले उद्योगी व्यवसायीहरूको हकहित संरक्षण, प्रवर्द्धन तथा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रशंसा गरे।
रुपन्देहीलाई नेपालकै उर्वर भूमि भएको बताउँदै ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भन्सार तथा अन्य भौतिक पूर्वाधारहरू यस क्षेत्रको आर्थिक विकासका प्रमुख आधार रहेको बताए।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले संघको इतिहासबारे जानकारी दिँदै २००९ सालमा गठित तदर्थ समितिबाट सुरु भई २०१० सालमा विधिवत् रूपमा स्थापना भएको संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए।