काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) परामर्श सेवा खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ। बिहीबार अबेर सुनाइएको फैसलामा २० प्रतिवादीमध्ये आठलाई दोषी ठहर गर्दै १२ जनालाई सफाइ दिइएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाललाई दोषी ठहर गरेको छ। उनीहरूलाई एक वर्ष एक महिनाको कैद सजाय सुनाइएको छ।
बिक्रेता कम्पनीका सञ्चालकसमेत दोषी ठहर भएका छन् भने प्राधिकरणका कर्मचारीहरू सफाइ पाएका छन्। अख्तियारले गत वर्ष १५ चैतमा दायर गरेको मुद्दामा सार्वजनिक खरिद नियमावलीको उल्लंघन गर्दै अनियमितता गरिएको आरोप लागेको थियो।
उनीहरूमाथि ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको थियो। विदेशी परामर्शदाता कम्पनीका अधिकारीहरूमाथि समेत २३ करोड २० लाख रुपैयाँ बिगो माग गरिएकोमा उनीहरूलाई पनि दोषी ठहर गरिएको छ।