काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु नहुँदै स्थगित भएको छ । बैठकमा सरकारका कोही पनि प्रतिनिधि उपस्थित नभएको भन्दै माओवादीले आपत्ति जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छ्न् ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्ने बित्तिकै सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरूप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रतिनिधि सभा नियमावलीमा बैठकमा सरकारको प्रतिनिधि अनिवार्य उपस्थितिको प्रावधान छ । त्यही नियमावली औंल्याउँदै पाण्डेले सरकारले सदनलाई हेपिरहेको टिप्पणी गरे ।