काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ ।
सत्तारुढ दल काँग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उनलाई हटाउने निर्णय पार्टीको नभएको पनि बताएका छन् ।
यसैबीच नेता डा. शेखर कोइरालाले पनि कुलमानलाई हटाउने निर्णयको स्वामित्व सरकारले नलिने बताएका छन् । नेता कोइरालाले उक्त निर्णय सरकारको कुशासनको निरन्तरताको अर्को कडी भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली काँग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।