काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौँको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यतिबेला नेकपा एमाले र काँग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भनेका छन् ।
नेकपा एमालेले सधैँ सरकार बचाऔँ भनेर नहेर्ने बताउँदै सधैँ चुनाव हेर्नुपर्ने बताए ।
‘नेकपा एमालेले सरकार बनाऔँ, सरकार बचाऔँ भनेर हेरिरहेको हुँदैन । नेकपा एमालेले सधैँ चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौँ । र ८४ को चुनाव भनिरहेका छौँ । ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
कतिपयले सरकार ढल्छ भनेर भनिरहेको बताउँदै अहिलेको गठबन्धन स्थिरता र स्थायित्वका लागि बनेको ओलीको भनाइ थियो ।
‘सरकार जान्छ, जान्छ भनेर भन्न थालेका छन् । लोकतन्त्रमा सरकार बन्दा लामो समयका लागि ५ वर्षका लागि बन्छ । यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘५० वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेजस्तो । हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो ।’
संसद्को बनोट अनुसार ठिक ढंगले देशलाई अघि बढाउन सकेसम्मको प्रयास नेकपा एमालेले गर्ने उनले बताए । ‘यस कुरामा चिन्ता नगर्नुस् । मिसन ८४ मा ध्यान दिनुस्,’ ओलीले सम्बोधनको क्रममा दोहोर्याए ।