काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
२७ दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षक आन्दोलनको समर्थन जनाउन पुगेका खनालले सरकारले शिक्षकहरूको माग सम्बोधन नगरे ठूलो जनआन्दोलन सिर्जना हुने चेतावनी दिए ।
उनले भने, ‘शिक्षकहरूको आन्दोलनको मागलाई नसुनी जसरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको छ सरकार, यसको हामी भर्त्सना गर्छौँ, विरोध गर्छौँ, शिक्षकहरू भनेको यो देशका बालबालिकालाई शिक्षित गर्ने गुरुहरू हुन्, गुरुआमाहरू हुन्। उहाँहरूको मागलाई पहिलो प्राथमिकताको साथ यो सरकारले पूरा गर्नुपर्छ । अन्यथा योभन्दा ठूलो जनआन्दोलनको प्रतीक्षामा बस्छ सरकार ।’
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नभन्दा पनि जनविरोधी र शिक्षा विरोधी चरित्र देखाउँदै वर्तमान सरकार काण्डै काण्डको माला लगाउन जुरेको टिप्पणी गरे । उनले सरकारले बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनैपर्ने बताए ।
नेता खनालले भने, ‘बजेट नहुने भन्ने कुरै छैन । जनताले दिएको राजस्व छ । जनताले दिएको राजस्व ठिक ढंगले परिचालन भएको छैन । भ्रष्टाचारको काण्ड काण्डको माला लगाउन जुरेको छ सरकारलाई, तर किन यसलाई बजेट दिन सक्दैन ।’
उनले नेकपा एसले शिक्षकको माग पूरा नभएसम्म समर्थन गर्ने जनाए ।
पार्टीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनको विरोध गरेकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘जसले आलोचना गर्नुभएको छ, त्यो गलत कुरा हो । नेकपा एस शिक्षक आन्दोलनलाई सुरुदेखि अन्तिमसम्म समर्थन गर्छ ।’