काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव कमल भट्टराईले बाजी मारेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक भट्टराईलाई विभागीय प्रमुख बनाई पठाएका हुन् ।
घुसखोरी र असुलीमा व्यापक आलोचना भएसँगै केही सातामै घर जान लागेका तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तानेर मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसाललाई महानिर्देशक नियुक्त गरिएको थियो । तर भुसाल जान अनिच्छुक देखिएसँगै तीव्र इच्छामा रहेका भट्टराईलाई नयाँ महानिर्देशक बनाई पठाइएको हो ।
सम्बन्धित समाचार : वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए, भुसाललाई नयाँ जिम्मेवारी
असुलीको चर्को आलोचनापछि महानिर्देशकसँगै निर्देशकसहित १४ जना कर्मचारीको पनि सरुवा गरिएको थियो ।
सम्बन्धित समाचार : विवादपछि वैदेशिक रोजगार विभागका उपसचिवसहित १४ कर्मचारीको सरुवा
उमेर हदका कारण १० गते बुधवार अनिवार्य अवकाश भएका सूर्यबहादुर खत्री पछि भट्टराईलाई महानिर्देशक बनाउने योजना अनुसार सूचना आयोगबाट मन्त्रालय सरुवा गरिएको भए पनि परिस्थितिले फरक मोड लिएसँगै योजना मुताबिक खटनपटन हुन सकेको थिएन । यति बेला कार्यान्वयनमा ल्याइएको छ ।
यससँगै मन्त्रालयका सहसचिव चक्रपाणि पाण्डेलाई भट्टराईको ठाउँमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकमा खटाइएको छ भने मालपोत सरुवा काण्डका चर्चित कृष्ण सापकोटालाई मन्त्रालयकै आन्तरिक रोजगार महाशाखाको जिम्मेवारी दिइएको छ । जसलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सेफल्याण्डिङ गरेर राष्ट्रिय योजना आयोग हुँदै श्रमतिर व्यवस्थापन गरेका थिए ।
‘कमाऊ अड्डा’ कहलाइएको वैदेशिक रोजगार विभागमा सुधारका लागि विभिन्न योजना अघि सारिए भनिए पनि सर्वसाधारणको दृष्टिकोणमा यसको छवि सकारात्मक बन्न सकेको छैन । न त कसैले सुधार्ने इमान्दार प्रयास नै गरेको देखिन्छ ।







