काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान नछाड्ने बताएको छ ।
पार्टी कार्यालय बनस्थलीमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्री लेखकमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो ।
गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभई सरकारको अभिभावकको रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभई समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड दिने उनको भनाइ छ । त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो ।
त्यस्तै सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि विभिन्न कमिटी गठन गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।







