काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई समानुपातिक सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वितरणमा विभेद नगर्न आग्रह गरेका छन् ।
समानुपातिक सांसदहरूको टोलीले मुख्यमन्त्री सिंहलाई आज ज्ञापन पत्र बुझाउँदै प्रत्यक्ष निर्वाचित सांसद जति आफूहरूलाई पनि बजेट उपलब्ध गराउन माग गरेका हुन् ।
बजेट तथा योजना वितरणमा विभेद नगर्न सबै पार्टीका समानुपातिक सांसदहरू मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जसपा नेपालकी सांसद ललिता विद्रोहीले जानकारी दिइन् ।
मधेश प्रदेशमा ६४ निर्वाचित र ४३ समानुपातिक सांसद छन् । चालु आर्थिक वर्षमा प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई मात्र डेढ करोड बराबरको योजना दिइएको छ ।
सांसद विद्रोहीले भनिन्, ‘संविधानले प्रत्यक्ष र समानुपातिक सांसदलाई बराबरको अधिकार दिएको छ । तर बजेटको कुरा आउँदा समान ढंगले वितरण गरिँदैन । यस्तो विभेद अन्त्य हुनुपर्छ ।’
उनले आगामी आर्थिक वर्षको बजेटमा समानुपातिक र प्रत्यक्ष सांसदहरूलाई समान ढंगले योजना वितरण नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइन् ।







