काठमाडौँ । नेकपा माओवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुटाएको छ ।
स्रोतका अनुसार, अध्यक्षका आकांक्षी पुष्प ओलीको नाममा सहमति जुटेको हो । ओली वर्तमान समितिका उपमहासचिव हुन् । त्यस्तै महासचिवमा भने गणेश शाहीको नाममा सहमति जुटेको छ ।
आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो ।
बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो ।
वाईसीएल नेताहरूका अनुसार अध्यक्षका आकांक्षी १३ जना आकांक्षी थिए ।
पछिल्लो पटक केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामीबीच सहमति जुटाउन नेताहरू लागेका थिए ।
अध्यक्ष प्रचण्डसहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको एक नेताले जानकारी दिएका छन् ।







