काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको मुद्दामा सर्वोच्च अदालतले मिसिल कागज झिकाउने आदेश दिएको छ ।
चलाउनेमाथिको आक्रमणमा संलग्न योगेन्द्र रावलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार न्यायाधीश द्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले उक्त घटनाका मुख्य योजनाकार भनिएका रावलसहित हरि आचार्य, रुपेश शाह, निरज राना मगर, सयुज श्रेष्ठ र रविनकुमार लामालाई २ वर्ष कैद र २८ लाख जरिवानाको सजाय सुनाएको थियो ।
जिल्लाको फैसलाविरुद्ध आक्रमणमा संलग्न आरोपितहरू उच्चमा गएका थिए । उच्च अदालत पाटनले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि गत जेठ १३ गते मुख्य योजनाकार भनिएका रावलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।







